अब मधेशमा पनि पानी पर्छ, सुक्खा हुँदैन : वरिष्ठ मौसमविद्‌ कँडेल

अब मधेशमा पनि पानी पर्छ, सुक्खा हुँदैन : वरिष्ठ मौसमविद्‌ कँडेल

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न विभागको निर्देशन
Facebook
X
Email
Telegram

४ असार, काठमाडौं । तराई मधेशका जिल्लाहरुमा केही दिनसम्म वर्षा हुने मौसमविद्‌ले पूर्वानुमान गरेका छन् । आगामी तीन दिन हल्कादेखि मध्यम वर्षा भने मौसमविद्‌को प्रक्षेपण छ ।

वरिष्ठ मौसमविद्‌ शान्ति कँडेलले भनिन्, ‘आगामी तीन दिनको कुरा गर्ने हो भने पनि त्यस्तो सुक्खा हुने अवस्था चाहिँ देखिँदैन, आगामी केही दिनसम्म नै मधेश प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुन्छ, आज राति त भारी वर्षा पनि हुनसक्छ ।’


उनका अनुसार गत २४ घण्टामा धनुषास्थित तुलसी वर्षा मापन केन्द्रमा ६६ मिलिमिटर वर्षा मापन भएको छ । ‘यो भनेको भारी वर्षा नै हो, समग्रमा हेर्ने हो भने मधेश प्रदेशमा धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भएको अवस्था छ,’ उनले भनिन्, ‘हल्कादेखि मध्यम वर्षा आगामी केही दिनसम्म नै हुनेजस्तो देखिन्छ ।’

नेपालको अन्नभण्डार भनिने तराई मधेशमा मनसुन भित्रिएको डेढ महिनाभन्दा बढी समय भइसक्दा पनि राम्रोसँग पानी परेको छैन । किसानहरुले धान रोप्न पाएका छैनन् । धान रोपिएका खेत पनि पानी अभावले चिरा परेका छन् । इनार र ट्युबेल सुकेका छन् । प्रदेशभर सुक्खा र खडेरी भएपछि मधेश प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ ।


वरिष्ठ मौसमविद्‌ कँडेल भने आगामी केही दिनको अवस्था हेर्दा मधेश सुक्खा रहीरहने जस्तो अवस्था नदेखिएको तर दिनभर-रातभर जस्तो झरी पर्ने अवस्था पनि नरहेको बताउँछिन् ।

‘खडेरी नै लाग्ने खालको अवस्था पनि छैन हामीले हेर्दाखेरी,’ उनले भनिन्, ‘विगत २४ घण्टादेखि वर्षा हुन सुरु गरिसकेको अवस्था छ, अधिकांश स्थानमा, मधेश प्रदेशमा पनि वर्षा भइरहेको छ र आगामी दिनहरुमा पनि वर्षाको सम्भावना देखिन्छ, त्यस्तो सुक्खा हुने अवस्था चाहिँ छैन ।’

पहाडको तुलनामा मधेशमा किन कम पानी परिरहेको छ ?

अहिले मधेशसँग तुलना गरेर हेर्दा पहाडी क्षेत्रमा बढी वर्षा भइरहेको छ । नेपालको भौगोलिक कारण पनि यस्तो अवस्था भएको मौसमविद्‌ बताउँछन् । नेपालमा भएको एक अध्ययनबाट अरु ठाउँको तुलनामा चुरे र महाभारत क्षेत्रमा बढी पानी पर्ने देखिएको छ ।

‘सामान्यतया पानी तातेर बाफ बनेर बादल बन्छ र त्यो पहाडमा ठोक्किएर कन्डेन्स (बाफ चिसो भएर पानी बन्ने प्रक्रिया) हुँदा पानी पर्ने हो,’ मौसमविद्‌ गोविन्द झा भन्छन्, ‘त्यसैले सामान्य अवस्थामा जलवाष्पयुक्त हावा पहाडमा ठोक्किएर पानी पर्छ, तर तराई मधेशका जस्ता खुला ठाउँमा ठोक्किने ठाउँ हुँदैन ।’

अहिले ठूलो पानी पार्ने प्रणाली नआएको र आएको प्रणाली पनि मधेशसम्म पुग्न नपाई पहाडमै रोकिने गरेको उनको भनाइ छ । तर अब मनसुनी रेखा नेपाल नजिक सरेकाले मधेश प्रदेशमा पनि पानी पर्ने सम्भावना देखिएको उनले बताए ।



 

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »