
सरकार नबन्दै कांग्रेसमा फेरि किचलो- अझै टुंगिएन मन्त्रीको नाम, अधिकारीले मात्रै शपथ लिने
२० साउन, हेटौँडा । आन्तरिक विवादमा फसेर मुख्यमन्त्री नै परिवर्तनको अवस्थामा पुगेको बागमती प्रदेश सरकारमा नयाँ सरकार नबन्दै कांग्रेसमा किचलो सुरू भएको छ । पार्टीबाट सहभागी हुने मन्त्रीहरूबारे कांग्रेस अझै अनिर्णित छ ।
मंगलबार दिउँसो ४ बजेट मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शपथ लिने तालिका तय भएपछि नेकपा एमालेले ६ मन्त्रीहरूको नाम टुंगो लगाउँदा कांग्रेसमा १ जना मन्त्रीको मात्र शपथको तयारी भएको बुझिएको छ । धादिङका सांसद शिवराज अधिकारीमात्रै मुख्यमन्त्री बानियाँसँग शपथ खाने सूचीमा तय भएका छन् ।
अधिकारीसँगै रसुवाका प्रभात तामाङ र सिन्धुपाल्चोकका कृष्ण तामाङले पनि शपथ खाने तयारी थियो तर अधिकारीको मात्रै शपथ हुनसक्ने कांग्रेसले बताएको छ । अरु मन्त्रीहरूको पनि शपथ हुनुपर्ने भनिए पनि कांग्रेस अनिर्णित छ । प्रदेश सभापति स्वयम् बानियाँ नै मुख्यमन्त्री भइरहँदा एक मन्त्रीको मात्र शपथ हुने तयारी छ ।
बहादुरसिंहले बनाएका ३ मन्त्रीलाई बानियाँ मन्त्रिमण्डलमा समावेश गर्नुपर्ने सहमति बनेपछि बानियाँ समूहले तयार पारेको मन्त्रीको सूची हेरफर गर्नु पर्ने भएकाले कांग्रेसमा तनाव बढेको हो । यो तनाव मत्थर पार्न केहीले बहादुर सिंह लामाले नियुक्त गरेर मन्त्रीको शपथ खान नपाएकामध्ये माया श्रेष्ठलाई शपथ खुवाउन पर्ने माग गरेका थिए भने एउटामात्र मन्त्रीलाई शपथ खुवाएर काठमाडौँ गएर पार्टी सभापति शेरबहादुर देउवासँग परामर्शपछि मात्रै बाँकी मन्त्री बनाएर विश्वासको मत लिने बानियाँको तयारी छ ।
यसअघि बहादुर सिंह लामाविरुद्धको अविश्वासको प्रस्ताव पार लगाउन बानियाँ समूहको पटकपटक बसेको बैठकमा उनलाई सहयोग गर्नेहरुले मन्त्री हुने अपेक्षा गरेका थिए । मुख्यमन्त्रीबाहेक ७ मन्त्री पाउने कांग्रेसमा बहादुर सिंह लामाले अल्पमतमा परेर नियुक्ति गरेका ३ मन्त्री पनि समेट्न पार्टी सभापति शेरबहादुर देउवा सहमत भएपछि मन्त्रीका आकांक्षी बढ्दा शुरुमै बानियाँ तनावमा परेका हुन् ।
उनलाई साथ दिने प्रदेश सभा सदस्यहरू शिवराज अधिकारी, बिन्दु रायमाझी पौडेल, यान्किला शेर्पा, सुरेश श्रेष्ठ, कृष्ण तामाङ, मीनकृष्ण महर्जन मन्त्री हुने आकांक्षीका अनुहार हुन् । यस्तै, बहादुर सिंह लामा नेतृत्वको सरकारमा मन्त्री भएर राजीनामा दिएर बानियाँलाई मदत गरेका विमल ठकुरी, मदु कुमार श्रेष्ठ र सुरजचन्द्र लामिछाने पनि मन्त्रीका आकांक्षी भए पनि दोहारिने सम्भावना कम देखिएको छ । रमेश महत, उर्मिला केसी, प्रभात तामाङ पनि मन्त्री हुन इच्छुक छन् ।
यता बहादुर सिंह लामाले आन्तरिक मामिला तथा कानून, सहकारी तथा गरिबी निवारण, र युवा तथा खेलकुद मन्त्रालयमा नियुक्त गरेका गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठ पनि समेट्न केन्द्रमै सहमति भएपछि बानियाँको मन्त्रिमण्डलमा जान चाहनेहरुमध्ये केही रोकिने भएका छन् ।













