
जेनजी आन्दोलन : कोशी सरकारको ४२ भवनमा क्षति, ६४ सवारी जले
३१ भदौ, विराटनगर । जेनजी समूहको आन्दोलनका क्रममा अराजक समूहले तोडफोड र आगजनी गर्दा कोशी प्रदेश सरकारका ४२ वटा भवनमा क्षति पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको प्रारम्भिक विवरण अनुसार प्रदेश मन्त्रालयका १८ वटा भवनमा पूर्णरुपमा क्षति भएको छ । २४ वटा भवनमा आंशिक क्षति भएको छ ।
प्रारम्भिक रिपोर्टमा प्रदेश सरकारका ६४ वटा चार पाङ्ग्रे गाडी जलेको छ । ती गाडी अराजक समूहले जलाएको थियो । १२ वटा चार पाङ्ग्रे सवारीमा आंशिक क्षति भएको छ । प्रदेश सरकार मातहतका कर्मचारीले प्रयोग गर्ने १४४ वटा मोटरसाइकल र स्कुटर पूर्णरुपमा क्षति भएको छ । १७ वटामा आंशिक क्षति पुगेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता एकदेव अधिकारीका अनुसार यो प्रारम्भिक विवरण हो । विस्तृत विवरण संकलन भइरहेको छ । उनका अनुसार प्रारम्भिक विवरण हेर्दा प्रदेशमा एक अर्ब ५० करोड हाराहारी क्षति भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संकलन गरेको विवरण अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ९ वटा चार पाङ्ग्रे सवारी जलेका छन् । चार वटा भवन पूर्णरुपमा क्षति भएको छ । २ वटा भवनमा आंशिक क्षति छ ।
पर्यटन वन तथा वातावरण मन्त्रालयको पाँच वटा भवन पूर्णरुपमा क्षतिग्रस्त भएको छ । १० वटा चार पाङ्ग्रे सवारी जलेका छन् । खानेपानी सिचाइँ तथा उर्जा मन्त्रालयमा ४ वटा चार पाङ्ग्रे सवारी जलेका छन् ।
उद्योग कृषि तथा सहकारी मन्त्रालयका ११ वटा गाडी जलेको छ । ५ वटा भवनमा आंशिक क्षति भएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको एउटा भवन र एउटा चार पांग्रे सवारी पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
सामाजिक विकास मन्त्रालयको २ वटा भवनमा पूर्ण क्षति भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय २ वटा भवन र ८ वटा सवारी, भौतिक पूर्वाधार विकास मन्त्रालयका ७ वटा चार पांग्रे सवारी जलेका छन् । स्वास्थ्य मन्त्रालयमा ३ वटा चार पांग्रे सवारी जलेका छन् । कोशी प्रदेशसभा सचिवालयको ४ वटा भवन र ८ वटा चार पांग्रे सवारी जलेको छ । प्रदेश योजना आयोगको तीन वटा चार पांग्रे सवारी जलेको छ ।













