
तुइनखोला पहिरो : १६० मिटर सडक ढाकिने गरी बन्यो २० मिटर अग्लो पहाड
८ असोज, काठमाडौं । तुइनखोलामा खसेको सुक्खा पहिरो पन्छाउने काम बिहानैदेखि सुरु गरिएको छ ।
सडकका दुवैतर्फबाट २/२ वटा गरी ४ वटा उपकरणले बिहान ६ बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले बताए । उनका अनुसार अपरान्ह ३ बजेसम्ममा सडकको दुवैतर्फ गरी करिब ६० मिटर मात्रै पहिरो पन्छाइएको छ ।
मंगलबार अपरान्ह खसेको भयंकर पहिरोले झन्डै १६० मिटर सडक क्षेत्र पुरिएको छ भने २० मिटर अग्लो पहाड नै बनेको उनले बताए ।
आचार्यले भने, ‘फिल्डमा ६ वटा उपकरणको व्यवस्था गरिएको छ । तर एक पटकमा एकातर्फ दुई वटा भन्दा बढी उपकरण चलाउन मिल्दैन । त्यसैले दुवैतर्फ गरी ४ वटा उपकरणले बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ ।’
उनले अगाडि भने, ‘पहिरो पन्छाउँदै जाँदा ठूलाठूला ढुंगाहरू भेटिएको छ । जसका कारण पहिरो पन्छाउन थप कठिनाइ भइरहेको छ । ठूलाठूला ढुंगाका कारण पहिरो पन्छाउने कामले गति लिन सकेको छैन ।’
थप पहिरो नखसेको अवस्थामा भोलि बिहीबार साँझसम्म पहिरो पन्छाउन सकिन्छ कि भन्ने अपेक्षा गरिएको उनले बताए ।












