
जेनजी आन्दोलनपछि पासपोर्ट बनाउनै सास्ती
१४ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनपछि सेवाग्राहीहरूले पासपोर्ट बनाउन पुन: सास्ती खेप्न थालेका छन् । जेनजी आन्दोलनपछि राहदानी विभागमा पासपोर्ट बनाउन जाने सेवाग्राहीहरू अनेक सास्ती खेप्न बाध्य भएका हुन् ।
विभागले २९ भदौमा सूचना जारी गर्दै दैनिक ५ सय थान आवेदन लिन मिल्ने ‘स्लट’ उपलब्ध गराइ राहदानी सेवा पुन: सुरु गरिएको जनाएको थियो । ती स्लट हरेक दिन साँझ ६ बजेदेखि विभागको वेबसाइटमा उपलब्ध हुने जनाएको थियो ।
विभागका सूचना अधिकारी केशवराज पन्थीका अनुसार जेनजी आन्दोलन क्रममा विभिन्न १४ जिल्लामा पासपोर्ट सिस्टम बन्द भएका थिए ।
‘जेनजी आन्दोलन पछाडि अहिले फारम संख्या कम खुलाएका छौं, कम खुलाएको हुनाले पब्लिकलाई समस्या भएको छ, जेनजी आन्दोलन क्रममा भएको आगजनीले झन्डै १४ जिल्लामा सबै सिस्टम ध्वस्त भए,’ पन्थीले भने, ‘त्यहाँ बनेको पासपोर्ट पनि धेरैजसो जल्यो अथवा नष्ट भयो, अनि त्यसपछिड त्यहाँ बनेका पासपोर्टहरूको एप्लिकेसन यहाँ हुन थाल्यो ।’
विभागका महानिर्देशक तीर्थराज अर्यालले विभागमा पासपोर्ट बनाउनेको चाप बढे पनि सोही अनुसार सेवा प्रवाहमा समस्या भइरहेको बताए । जिल्लामा पासपोर्टहरू जलेको, सिस्टम जलेका कारण पासपोर्ट वितरण हुन नसक्दा केन्द्रमा चाप बढेको उनको भनाइ छ ।
विदेशमा रहेका नेपालीलाई समेत पासपोर्ट बनाउन समस्या देखिएको छ । जसले गर्दा मिसनमा समेत समयमै पासपोर्ट पठाउन नसकिएको सूचना अधिकारी पन्थीले बताए । जिल्लाका समस्याले गर्दा हाल विभागमा दैनिक ५ सयदेखि ८ सय हाराहारी फारम खुलाउने गरिएको छ ।
‘मिसनको पासपोर्ट लिने काम, सबमिसन हुने काममा समस्या छैन, तर हाम्रोबाट प्रिन्ट भएर जाने काम ढिलो भएको छ,’ पन्थीले भने, ‘क्षति भएका जिल्लामा सामान पठाउन सकेका छैनौं, जसले गर्दा पहिलाकै अवस्थामा फर्किन सकेको छैन ।’













